नियम १२
प्रतियोगिताको लागि विज्ञापन गर्नु पर्ने
(१) आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्नेछ । यसरी विज्ञापन गर्दा प्राथमिक तहको हकमा जिल्लागत र निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ ।
(१क) आयोगले शिक्षक नियुक्तिलाई व्यवस्थित गर्न विभिन्न चरणमा विज्ञापन गर्न सक्नेछ ।
(१ख) उपनियम (१क) बमोजिम विज्ञापन गर्दा आयोगले पहिलो चरणमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा संवत् २०६३ साल वैशाख ११ गतेदेखि रिक्त रहेको शिक्षक पदको विज्ञापन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विज्ञापन गर्दा ऐनको दफा ११च. को उपदफा (१) को खण्ड (ग) मा उल्लेखित परीक्षाको तरिकाहरू मध्ये कुन कुन तरिकाद्वारा प्रतियोगिता हुने हो सो समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम विज्ञापन गर्दा दरखास्त पेश गर्नु पर्ने म्याद सामान्यतया ३० दिनमा नघटाई तोक्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम बिज्ञापन गर्दा आयोगले विद्युतीय माध्यमको समेत प्रयोग गर्न सक्नेछ ।